
इलाम— इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मिएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि मंगलबार इलामसहित देश नै शोकमग्न बन्यो ।
मंगलबार नेम्वाङको निधनको खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे ।
नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने,‘हिजो दिनभर घरमै बसें। आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ । ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ । विगतका मिठा पल सम्झिएँ । विरक्त लाग्यो ।’
अब फेरि देशले अर्को सुवास पाउन मुश्किल हुने उनी बताउँछन् । ‘उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गर्नुभएको छ । इलामको मात्र होइन झापा,पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ’,श्रेष्ठले भने ।
इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।
यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताए ।
नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ ।
नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाइन् ।
टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सुशीलाले बताइन् ।
सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने,‘उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो । गाउँमा कोहीले झगडा गर्यो भने ऊ रुन्थ्यो’,राईले भने,‘भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो ।’
गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राईले फेरि भने,‘आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ । म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो ।’
इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए ।
बुबा न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए ।
उनले कानुनमा स्नातक अध्ययन गरेका थिए । इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ ।
यतिबेला यहाँका सबै राजनीतिक दलका नेताकार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ ।