News Griha :: न्यूजगृह
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजबाट

काठमाडौं— किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ बुधबारदेखि निःशुल्क लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्नेछन् ।

गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटा अस्पतालबाट खोपको सुरुवात गर्ने तयारी गरेको हो । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ ।

कोशी प्रदेशमा कोशी अस्पताल, मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट एकै दिन एचपीभी खोप लगाउन सकिनेछ ।

खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।

सन् २०२२ को सरकारी तथ्याङ्क अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् । उनका अनुसार ‘ह्युमन प्यापिलोमाभाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्ने लगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको डा. शाहीले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०८:२४
Weather Update