News Griha :: न्यूजगृह
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार 

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरूप प्रदान गरेको छ ।

इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा बीपीको सो भाषण उपहारस्वरूप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । 

सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरूप हस्तान्तरण गरेका हुन् । 

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएकाबेला हस्तान्तरण गर्न पाउँँदा खुसी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जनाएका छन् । 

पोखरेलका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्ताबेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए ।

प्रजातन्त्र राजनीतिक प्रणालीको रूपमा वा जीवन पद्धति प्रयोगको रूपमा यी देशहरूमा परीक्षणको रूपमा रहेको पनि बीपीले सम्बोधनमा उल्लेख गरेका  छन् । 

भाषणमा बीपीले त्यही कारण विकसित प्रजातान्त्रिक समाजवादी राष्ट्रहरूले एसिया र अफ्रिकाका भरखरै प्रजातान्त्रिक व्यवस्था अँगालेका ती राष्ट्रहरूलाई साम्यवाद वा तानासाहीको विकल्पबाट जोगाउन सक्नुपर्ने पनि उल्लेख गरेको छ । 

राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकोमा खुसी व्यक्त पनि गरेका छन् । 

उनले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा पनि विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:५८
Weather Update