
काठमाडौं— नेकपा एमालेले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ ।
कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले शोक वक्तव्य जारी गर्दै नेम्वाङको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन् ।
नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, 'उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।'













