News Griha :: न्यूजगृह
गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता नेम्वाङ 

काठमाडौं—  हृदयघातका कारण मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएका संविधान सभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिन एमाले पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उनको अप्रत्याशित निधनमा दुःख व्यक्त गरेका छन् ।

subash chandra nembang111694510516.jpg

उनीहरूले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा नेम्वाङले खेलेको भूमिकाको स्मरण गर्नसमेत भुलेनन् । श्रद्धाञ्जली दिन पुग्नेको लाइन र घुइँचो देख्दा लाग्थ्यो नेम्वाङ कुनै एक पार्टीको मात्र नभई मुलुककै साझा नेता थिए । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जली र समवेदना दिन पुग्नेमा प्रकट भएको देखिन्थ्यो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जली दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्किइन् । 

श्रञ्द्धाजली दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सकेनन् । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उनकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहल बाट बाहिर निस्किएका थिए । यस्ता दृश्य बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन् ।

prachanda-subas negbang-death1694510172.jpg

नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आकलन गर्न उनलाई श्रद्धाञ्जली दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पहिलो संविधान सभा असफल भएपछिको दोस्रो संविधान सभामा पनि नेम्वाङ अध्यक्ष नहुनुभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गर्छन् । पोखरेलले भने, ‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो ।’

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ ।’ उनले नेम्वाङलाई आफूले राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन एक बहु आयामिक व्यक्तिका रूपमा बुझ्ने बताए । 

pradeep gywali1694505542.JPG

नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाट मुक्त रहनुभएको उल्लेख गरे । भने, ‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो ।’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उनकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उनको साझा व्यक्तित्व झन् उजेलिएको थियो । त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो ।

नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए । 

subash chandra nembang61694506600.jpg

एमाले सचिव गोकर्ण विष्टले एक अर्का विरुद्ध आरोप नलगाईकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभई साझा नेता भएकाले मुलुककै लागि अपूरणीय क्षति भएको बताए ।

एमाले नेता एवम् सांसद सूर्य थापाले नयाँ पिँढीलाई राजनीतिमा सधैँ प्रोत्साहन गर्ने नेताका रूपमा नेम्वाङलाई सम्झिए । 

subash chandra nembang71694506604.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:००
Weather Update