News Griha :: न्यूजगृह
भर्ना अभियान : विद्यार्थी खोज्न घरघरमा शिक्षक

दोधारा चाँदनी— कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरेका छन् ।

विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् । भृकुटी माध्यमिक विद्यालयकी शिक्षक विमला भट्टले विद्यार्थीलाई आफ्नो विद्यालयमा भर्ना गराउन शिक्षक अभिभावको घरदैलोमा पुग्ने गरेको बताइन् ।

‘हामीले यसपटक नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला उपलब्ध गराउँदैछौं’,उनले भनिन्,‘अभिभावकलाई विद्यालयको गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिँदै भर्ना गर्न आग्रह गरिरहेका छौं ।’

उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दा न्यून शुल्कमा गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने बताइन् । ‘नयाँ विद्यार्थी थप गर्ने लक्ष्य छ’, भट्टले भनिन्,‘त्यसैले घर–घरमै पुगिरहेका छौँ ।’

महेन्द्रनगर माध्यमिक विद्यालयले पनि घर–घरमै पुगेर विद्यार्थी भर्ना अभियान चलाएको छ । शिक्षक नवराज जोशीले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । ‘नर्सरी र कक्षा १ मा अंग्रेजी माध्यमबाट समेत निःशुल्क पठनपाठन गर्न लागेका छौँ’, उनले भने ।

हाल कक्षा १० सम्म विद्यालयमा तीन सय ८५ विद्यार्थी रहेकामा यस वर्ष पाँच सय विद्यार्थी पुर्‍याउने लक्ष्यका साथ विद्यार्थी भर्ना अभियान थालेको उनको भनाइ छ ।

‘कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवाखाजाको व्यवस्था गरेको छ’, जोशीले भने,‘सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा छन्, यहाँ भर्ना हुँदा विद्यार्थीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।’

उनले घरघरमा पुगेर बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको बताए ।

जिल्लाको सबैभन्दा पुरानो विद्यालय बैजनाथ माविले पनि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:३४
Weather Update