News Griha :: न्यूजगृह
प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

ललितपुर— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा गई पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय गई पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छिन् ।

यसैगरी नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महत,सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत  च्यासल पुगेका थिए ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री  शर्माले पूर्वसभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेलेको भूमिकाको उच्च सम्मान गर्दै सरकारले  राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइन् ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेताकार्यकर्ताको भीड लागेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:५९
Weather Update