सुवास नेम्वाङको निधनबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं— त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले सो जानकारी गराएको हो । मंगलबार राति नेम्वाङलाई परिवारले अस्पताल लगेका थिए ।
राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको निमित्त कार्यकारी निर्देशक डा.सन्त कुमार दासले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो ।’
चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि मंगलबार बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १४:४७













