
काठमाडौं— नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको शोकमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मंगलबार बिहान उपाध्यक्ष नेम्वाङको मृत्यु भएपछि बसेको आकस्मिक सचिवालय बैठकले औपचारिक कार्यक्रम नगरिने निर्णय पनि गरेको छ ।
बैठकले नेम्वाङको मृत्युमा शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले अत्यन्त दुःख, पीडा र शोकका बीचमा आकस्मिक सचिवालय बैठक गरिएको जानकारी दिए ।
उनले भने, ‘हाम्रा उपाध्यक्ष सुवास नेम्वाङको गएराति १ बजेर ५० मिनेटमा हृदयघातबाट मृत्यु भएको शोकको घडीमा सचिवालय बैठक बसेको हो । उहाँप्रति बैठकले श्रद्धाञ्जली दिँदै शोक प्रस्ताव पारित गरेको छ ।’
ज्ञवालीले शोकमा तीन दिनसम्म झण्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको पनि बताए । नेम्वाङको पार्थिव शरीर मंगलबार र बुधबार च्यासलमै श्रद्धाञ्जलीका लागि राखिने उनले बताए ।













