News Griha :: न्यूजगृह
पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसरी सम्झिए सुवास नेम्वाङलाई 

काठमाडौं— नेकपा एकीकृत समाजवादीका ‘सम्मानित’ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युले स्तब्ध बनाएको बताएका छन् ।

मंगलबार खनालले एक विज्ञप्ति जारी गर्दै नेम्वाङसँगका सहायात्राबारे उल्लेख गरेका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खनालले नेम्वाङ एउटा सरल स्वभावको मृदुभाषी नेता भएको बताएका छन् ।

नेता खनालले नेम्वाङसँगको बालपनदेखि राजनीतिक नेतृत्वसम्मका सहयात्राबाट चर्चा गरेका छन् । 

हेर्नुस् खनालको विज्ञप्ति

संविधान सभाका अध्यक्ष, नेकपा (एमाले) पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य कमरेड सुवासचन्द्र नेम्वाङको आज बिहान हृदयघात भएर असामयिक निधन भएको खबरले  मलाई स्तब्ध बनाएको छ। यस दुखद घडीमा सर्वप्रथम म भद्र नेता कमरेड सुबासचन्द्र नेम्वाङ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, वँहाकी जीवन संगिनी तथा वहाँको शोक सन्तब्ध परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दछु।

सुवासचन्द्र नेम्वाङ मेरो सातौं कक्षा देखिको सहपाठी साथी हुनुहुन्थ्यो। हामीले माध्यमिक शिक्षा सगै पढ्यौ। त्रिचन्द्र कलेजमा आई.एस.सी सगैँ पढ्यौ। हामीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्यौं। मैले नै वहाँलाई २०२९ साल देखि प्रगतिशिल पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेको हो। कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको काल सम्म वहाँ र म एउटै पार्टीमा लामो समय सगै काम गर्यौं। ०४६ सालको परिवर्तन पछि शुरुमा वँहा राष्ट्रिय सभा सदस्य बन्नुभयो। त्यसपछि मैले नै वहाँलाई इलामबाट जनप्रतिनिधि बन्न प्रेरित गरे। हामी सगैँ अनेक पटक इलामबाट संसदमा पनि प्रतिनिधित्व गर्यौं। वँहा पटक पटक प्रतिनिधि सभाको सभामुख बन्नुभयो।  संविधान सभामा समेत हामी सगैँ निर्वाचित भयौ। त्यही सिलसिलामा एकै समयमा म प्रधानमन्त्री भए, वहाँ संविधान सभाको अध्यक्ष निर्वाचित हुनुभयो। यी इतिहासका सुखद संयोगहरु हुन। तर आज वहाँको दुःखद निधन भएको खबरले मलाई मर्माहत बनाएको छ।

कमरेड सुवासचन्द्र नेम्वाङ एउटा सरल स्वभावको मृदुभाषि नेता हुनुहुन्थ्यो। वँहा एउटा कुशल सांसद हुनुहुन्थ्यो। निकै लामो समय वहाँले सभामुख भएर संसद परिचालनमा पनि महत्वपूर्ण योगदान दिनुभयो। संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि वँहाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। हामी अलग पार्टीमा हुँदा पनि हाम्रा बीच सधै सम्पर्क र सम्बन्ध भइरहन्थ्यो। पार्टी बिभाजन भएको प्रति वहाँ निकै दुखि हुनुहुन्थ्यो। मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्रा वीच चर्चा भइरहन्थ्यो। आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि वहाँको यो दुखद निधन  भएको छ।

यो आफैंमा एउटा प्राकृतिक नियम हो। अजम्बरी कोहि पनि छैन। हर दुखलाई शक्तिमा परिणत गर्दै अघि बढ्नुको विकल्प छैन। यतिबेला वहाँको पार्थिव शरीर हामी माझ नरहे पनि वहाँले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनमा गर्नुभएका योगदानहरु सबैका सामु छन्। तिनै योगदानहरुमा हामी हाम्रो प्रिय साथी, सहपाठी र कमरेड सुवास नेम्वाङलाई भेटिरहने छौं। 

अन्त्यमा प्रिय कमरेड सुवास नेम्वाङ ! विदा!! अलविदा !!! २६ भाद्र,२०८०

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:०४
Weather Update