News Griha :: न्यूजगृह
नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध

काठमाडौं— नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान अकस्मात् निधन भएको हो  । 

बिहान १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका हुन् ।

नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । 

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ ।

को हुन सुवासचन्द्र नेम्वाङ ? 

हृदयघातबाट निधन भएका नेम्वाङ स्नातक अध्ययनका क्रममा २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।   

२०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डिनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०४८ देखि २०५२ सम्म राष्ट्रिय सभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधि सभाका सभामुख, २०६४ व्यवस्थापिका संसद्को सभामुख, २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।
२०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वर्गीय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए। नेम्बाङ हाल इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित थिए । उनी गएको निर्वाचनमा ३० हजार २० मत प्राप्त गर्दै पाँचौं पटक विजयी बनेका थिए ।

नेम्वाङले पछिल्लो संविधान सभा निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरेका थिए।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भएका थिए। सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू अस्पताल पुगेका थिए । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०८:२५
Weather Update