News Griha :: न्यूजगृह
भ्रूणको जापान यात्रा

काठमाडौं— गर्भाधान पश्चात् बच्चाको जन्म नहुँदासम्मको अवस्थालाई भ्रूण भनिन्छ । विशेष गरी पछिल्लो समय नेपालको जनसंख्यामा महिलाको संख्या कम देखिनुको मुख्य कारण यस्तै भ्रूणको हत्यासँग जोड्ने गरिन्छ ।

वास्तविक जनसंख्या वृद्धिदरलाई आकलन गर्ने हो भने महिलाको तुलनामा पुरुषको जनसंख्या वृद्धिदर बढी देखिन्छ । तथ्याङ्कले भन्छ,‘कूल जनसंख्यामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।’

‘डेमोग्राफी’ मा महिलाको जन्मदर घटेको देखाइरहँदा विज्ञहरू यसको सबैभन्दा ठूलो दोषचाहिँ ‘भ्रूणहत्या’ लाई दिन्छन् । सामान्यतया नेपाली समाजमा भ्रूण पहिचान गरेर छोरा भए जन्माउने र छोरी भए गर्भपतन गराउने क्रम बढ्दा जनसंख्याको ‘डेमोग्राफिक इमेज’ यस्तो भएको जानकारहरू बताउँछन् ।

भ्रूण हत्यालाई धेरैले अपराध मान्छन् । तर नेपालको कानुनले १२ हप्तासम्मको गर्भपतनलाई वैधानिकता दिएको छ । यद्यपि व्यवसायिक लाभ हुने भएपछि भ्रूण पहिचान गरेर त्यो भन्दा बढी समयको भ्रूणलाई हत्या गर्ने क्रम पनि बढिरहेको छ ।

आमाको गर्भमा रहिरहँदा एउटा भ्रूणको जीवन कस्तो हुन्छ ? गर्भभित्र भ्रूणले कस्तो दिन व्यतित गर्छ र भ्रूणले के कुरा सोच्छ ? यी कुरा आमचासो भन्दा बाहिरको हो । तर मानिसले अक्सर सोच्ने कुराको तुलनामा फरक आयामबाट सर्जकहरूले सोच्छन् । स्रष्टाले सोच्दैनन् मात्र त्यो कुरा अरूलाई पनि महसुस गराउँछन् । देखाउँछन् र सोच्न बाध्य बनाउँछन् ।

कलाको आफ्नै शक्ति हुन्छ । इतिहासलाई हेर्ने हो भने कैयन् भन्न नसकिएका विषयहरूलाई कलाको विभिन्न विधा मार्फत् स्रष्टाले भन्दै आएका छन् र स्रष्टाले आफ्नै शैली दिएर त्यस्ता घटना, परिघटना, यथार्थ, सपना र परिकल्पनालाई अभिव्यक्त गर्छन् ।

नाटक ‘इम्ब्रोइनिक’ (भ्रूण) स्रष्टाको यस्तै एउटा अभिव्यक्ति हो । नाटकका लेखक तथा अभिनेतासमेत रहेका केदारनाथ पौडेलले एउटा भ्रूणको कथालाई मञ्चमा ल्याएका छन् । पोखराको गन्धर्भ नाटकघर सँगै काठमाडौंको मण्डला थिएटरमा मञ्चन भई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको नाटक ‘इम्ब्रोइनिक’ अब जापानमा मञ्चन हुँदैछ अर्थात् भ्रूणले विदेश यात्रा गर्दैछ ।

नेपाली रंगमञ्चलाई हेर्ने हो भने निकै कम रंगकर्मीले मात्र मञ्चमा बेलाबखत ‘फरक प्रयास’ गर्छन् । कतिपय अवस्थामा ती प्रयास व्यर्थको बन्छन् । तर कुनै प्रयासले भने साँच्चिकै बहस सृजना गरिदिन्छन् । नाटक ‘इम्ब्रोइनिक’ ले नेपाली रंगमञ्चमा फरक प्रयास त गर्‍यो नै त्यसबाहेक यसले भ्रूणको बारेमा दर्शकलाई सोच्न बाध्य बनाइदियो ।

नाटककारले भ्रूणको माध्यमबाट मानिसको मनोविज्ञान, आचरण र जीवनशैलीप्रति कटाक्ष गरेका छन् । यो नाटकले मानिसको क्रुरता र अमानवीयता पनि देखाउँछ । बच्चा जन्माउने हरेक प्राणीले भ्रूणलाई हुर्काउँछ । तर मानिसले जसरी भ्रूणलाई अप्राकृतिक हत्या गर्दैनन् ।

‘यो नाटकको माध्यमबाट आम मानिसको प्रवृत्तिलाई उजागर गर्न खोजेको मेरो प्रयास सफल भएको जस्तो मलाई लाग्छ ।’ नाटकका लेखक, अभिनेता तथा निर्देशक केदारनाथ पौडेलले भने, ‘हामीले जति ठाउँमा यो नाटकलाई प्रदर्शन गर्‍याैं, सबै ठाउँमा दर्शकले रुचाएका छन् ।’

जापानको रंगमञ्चमा यो नाटक प्रदर्शनका लागि पौडेलसँगै अर्का अभिनेता तथा नाटक निर्देशक कपिल शर्मा र अभिनेता दीपेन्द्र पौडेल जापान पुगेका छन् । भ्रूणको जन्म केदारले यसै गरेका होइनन् । एक वर्ष अगाडि उनी आफूले लेखेको नाटक ‘घेरो’ को मञ्चनको क्रममा आफ्नो समूहसहित ‘इजिप्ट’ पुगेका थिए ।

नेपालबाट गएको नाटक त्यहाँका दर्शकले रुचाए । फरक परिवेश र स्वाद भएपछि देशविदेशबाट इजिप्टमा नाटक प्रदर्शन गर्न आएका अन्य रंगकर्मीले पनि नेपाली संस्कृति घुलित नाटक घेरोलाई वाहवाही गरेका थिए । केदारले पनि इजिप्टको नाटक महोत्सवमा सहभागी भएका सबै नाटक हेरे र उनलाई लाग्यो नेपाली रंगमञ्चमा पनि फरक प्रयास हुन जरुरी छ ।

त्यसलगत्तै केदारले इटालीको एउटा नाटक कार्यशालाका लागि आवेदन भरे । नेपालबाट उनी छानिए । रंगमञ्चमा आफूले अहिले गरेको फरक प्रयासको श्रेय केदारले त्यही कार्यशालालाई दिन्छन् । कार्यशालामा सिकेका कुरा उनले आफ्नो समूहका अरुलाई पनि सिकाए । ‘इम्ब्रोइनिक’ नाटकको परिकल्पना, लेखनसँगै मञ्चन पनि गरे । भ्रूणको जीवनसँग जोडिएको कथा भनिए पनि यो नाटक मार्फत् उनले धेरै क्षेत्रलाई झक्झाउने प्रयत्न गरेका छन् ।

‘यो गज्जबको संयोग मान्नुपर्छ । म आफैं पनि भ्रूणको जापान यात्रालाई लिएर उत्साहित छु्,’ नाटकका अभिनेता कपिल शर्माले भने,‘पक्कै पनि यसलाई अन्तर्राष्ट्रिय जगतमा रुचाइनेछ ।’ यसभन्दा अगाडि केदारले लेखेका २ वटा नाटकको निर्देशन पनि कपिलले गरेका हुन् । ती हुन् घेरो, आतुरकाल ।

नाटक ‘इम्ब्रोइनिक’ जापानको ३ वटा स्थानमा मञ्चन हुने सेड्यूल छ । तर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले पनि यो नाटकलाई नेपाली समुदायमाझ विशेष मञ्चन गर्दैछ ।

नयाँ वर्षको छेको पारेर संस्थाले ‘काव्यधारामा रंगमञ्च’ शीर्षकको कार्यक्रमको आयोजना गरी नाटकलाई जापानमा रहेका नेपाली समुदायमाझ प्रदर्शन गरिने जनाएको छ । त्यस्तै टोकियोमा रहेको एभरेस्ट इन्टरनेशनल स्कुलका ६ सय बढी नेपाली विद्यार्थीको लागि पनि यो नाटक प्रदर्शन हुनेछ । जापानमा नाटक ‘इम्ब्रोइनिक’ को टोली १५ दिन बस्नेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०७:५२
समसामयिक
Weather Update