News Griha :: न्यूजगृह
टोखा—छहरे सुरूङ्ग मार्ग निर्माणमा सरकार गम्भीर छ : अर्थमन्त्री महत 

काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले टोखा–छहरे सुरूङ्ग मार्ग बनाउन सरकार गम्भीर रहेको बताएका छन् । 

टोखा–छहरे सुरूङ्गको वातावरण प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अवलोकन तथा निरीक्षण गर्दै उनले सुरूङ्ग मार्गले रसुवागढी चीन जाने नाकासम्म र पृथ्वी राजमार्गबाट काठमाडौंमा सहज पहुँच पुर्‍याउने भन्दै यस विषयलाई सरकारले प्राथमिकतामा राखेका दाबी गरे ।  

महतले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । हामीले यसको लागि बजेट विनियोजन पनि गरेका छौ । त्यसको अर्थ यो सुरूङ्ग मार्ग बनाउँन हामी गम्भीर छौ । यसले रसुवागढी चीन जाने नाकासम्म मात्रै नभएर पृथ्वी राजमार्गबाट आउँने ट्राफिकलाई पनि छिटो काठमाडौंमा पहुँच पुर्‍याउछ । त्यस हुनाले दुबै कारणले गर्दा यो सुरूङ्ग मार्ग महत्वपूर्ण छ । यो यहाँको जनताको लागि मात्रै होइन अन्तर्राष्ट्रिय स्तरको व्यापार, आवत जावत सजिलो हुने हुनाले यसलाई प्राथमिकतामा राखेका छौ ।’ 

यस्तै, उनले सुरूङ्ग मार्ग निर्माणमा चीनको पनि चासो रहेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणमा यो विषय प्रस्तावको रुपमा जाने पनि बताए ।   

उनले भने, ‘प्राविधिक तहमा चीन सरकारले यसको अध्ययन गरेको छ । यसलाई जतिसम्म सकिन्छ निर्माण गर्ने पक्षमा हामी छौ र यसमा चीन सरकारले पनि चासो देखाउनु भएको छ । प्रधानमन्त्रीको चीन भ्रमण पनि हुदै छ त्यस अर्थमा पनि यसलाई प्राथमिकतामा राखेका छौ । नेपालको तर्फबाट चीन भ्रमणमा यो प्रस्तावको रुपमा जान्छ ।’ 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:२३
Weather Update