
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नु पर्छ भन्ने देखाउने चेतावनी दिएका छन् ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईँका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौँ, जनताको काम गर्न सकेन भने घरमा गएर बसौँ किन भने धेरै फुरफुर नगरौँ आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौ,’ उनले भने, ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमा हामी एकजुट छौ ।’
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ ।
‘बालुवाटारको जमिन प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरु हुन्छ । यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरूको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दोलन यस्तै भ्रष्टाचारका विरुद्धमा हो,’ उनले भने ।
शाहीले आफूहरूको आस्थामाथि पटक पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउँने कुरा गरे अतिवादी नहुने तर जसले यस्तो काम नर्गन भनेको छ त्यो चाँहि अतिवादी हो । हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतङ्कवादी पनि हुन् उनीहरूलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ,’ उनले भने ।
संविधानमा गाई मार्यो भने तीन वर्षको सजाय भएपनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ ।