News Griha :: न्यूजगृह
कञ्चनपुरमा खेतमै सुक्यो धान, किसान चिन्तामा

कञ्चनपुर— कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटीको भनाइ छ । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन’,उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’

पुनर्वास–५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए ।

साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो । ‘बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने,‘तीन बिघाको पूरै सुकिसक्यो ।’

उनका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:०३
Weather Update