News Griha :: न्यूजगृह
मरेका ७ गाईसहित २ पक्राउ
फाइल तस्बिर

नवलपरासी— पाल्पाबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबासतर्फ ल्याउँदै गरेका गाईसहित २ जना पक्राउ परेका छन् ।

तस्करले अवैध रुपमा पाल्पाबाट दुम्कीबासतर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

बा प्र ०१–०३–००१ च १३८६ नं  पिकअप भ्यानमा ९ गाई ल्याउँदै गरेको अवस्थामा २ जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए । ‘९ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा ७ गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:५८
Weather Update