अमेरिका भ्रमण जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले दिए संख्या घटाउन निर्देशन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् । अमेरिका जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले संख्या घटाउन निर्देशन दिएका हुन् ।
महासभामा भाग लिन प्रधानमन्त्री दाहाल भदौ २९ गते अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा प्रधानमन्त्रीले मुख्यसचिव डा.बैकुण्ठ अर्याललाई भ्रमणटोली सानो बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले न्यूजगृहलाई भने,‘प्रधानमन्त्रीले अमेरिका भ्रमण जाने टोलीको संख्या घटाउन मुख्यसचिवलाई निर्देशन दिनुभएको छ । अमेरिका भ्रमण जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले संख्या घटाउन निर्देशन दिनुभएको हो ।’
अमेरिका भ्रमण टोलीमा २४ मध्ये ५ सदस्यीय बनाउने तयारी छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १४:३२