विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो मुगु

काठमाडौं— कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्याएको हो ।
प्राधिकरणले आइतबारदेखि गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन सुरुआत गरेको छ ।
प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो ।
मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १२:५६













