
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम, आप्रवासनसम्बन्धी समस्याहरू र तिनको सम्बोधनका लागि कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका छन् ।
अन्तर्क्रियामा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित छन् । अन्तर्क्रिया भोलि मंगलबारसम्म चल्नेछ । कार्यक्रममा कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा अन्तर्क्रियात्मक रिपोर्ट प्रस्तुत गरेका छन् ।
अन्तर्क्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरे ।
भण्डारीले प्रस्तुत गरेको अवधारणापत्रमा श्रम आप्रवासनका मुख्य १० गन्तव्यमा कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स्, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान, रोमानिया रहेको उल्लेख छ । साथै नेपाली श्रमिकहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेको विभिन्न समस्याहरू उल्लेख गर्दै त्यसको समाधानका विकल्पहरू प्रस्तुत गरिएको छ ।
अन्तर्क्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिसा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनल भिसाका समस्या, नेपाली कूटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल हुनेछ ।
अन्तर्क्रियामा नेपाली राजदूतहरू, अष्ट्रियाका लागि भरत गौतम, ओमानका लागि डोरनाथ अर्याल, जर्मनीका लागि रामकाजी खड्का, जापानका लागि दुर्गाप्रसाद सुवेदी, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, कतारका लागि नरेशविक्रम ढकाल, बहराइनका लागि तीर्थराज वाग्ले, पाकिस्तानका लागि तापस अधिकारी, कुवेतका लागि घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्स्का लागि तेजबहादुर क्षेत्री, साउदी अरेयिबाका लागि नवराज सुवेदी लगायतले विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था र त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा राखेका छन् ।













