News Griha :: न्यूजगृह
अझै खुलेन जयपृथ्वी राजमार्ग, दशरथ चन्द मार्ग पनि अवरुद्ध 
फाइल तस्बिर ।

बैतडी— अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग  अवरुद्ध भएको हो । 

उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए  । आइतबारदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।  

यस्तै दशशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ । गएराति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध पारेको प्रहरी निरीक्षक केसीले बताए । 

 राजमार्ग अवरुद्ध भएर यातायातका साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित हुनुका साथै बाढी र पहिरोको जोखिम बढाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:२८
Weather Update