
सङ्खुवासभा— जिल्ला कारागार खाँदबारीमा दुईजना कैदीको हत्या प्रकरणमा आरोपितसँग बयान लिन सुरु भएको छ ।
हत्या प्रकरणमा जोडिएका १५ जना आरोपितसँग आइतबारबाट बयान लिन सुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा ७ प्रहरी र ८ जना कैदीबन्दी विरुद्ध जिल्ला अदालत सङ्खुवासभामा शुक्रबार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो ।
जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरु भएको भएको स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए । घटनामा संलग्न भएको आरोप लागेका १५ जनासँग बयान थालिएको स्रेस्तेदार केसीले बताए । आरोपितको बयान सकिन तीनदेखि चार दिनसम्म लाग्न सक्ने स्रेस्तेदार केसीले बताए ।
कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।
त्यस्तै, कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका ८ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो ।
गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारका तीन कर्मचारीसहित ६ जनाविरुद्ध मुद्दा नचल्ने जिल्ला कारागारका तीन कर्मचारी र तीनजना प्रहरीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ ।
निमित्त जेलर राजेन्द्र घिमिरे भदौ ६ गते पक्राउ परेका थिए । उनलाई त्यही दिन हाजिर जमानीमा छाडिएको थियो । कारागारका सहायक कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्की भदौ १३ गते पक्राउ गरिएको थियो । प्रहरी जवानहरू कार्की, बिक र सोङमीलाई अनुसन्धानका क्रममा भदौ १४ गते पक्राउ गरिएको थियो । घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।
जिल्ला अदालत सङ्खुवासभाले कारागारका तीन कर्मचारी र तीनजना प्रहरीलाई शुक्रबार छाडिसकेको छ । मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए ।













