
काठमाडौं— अन्तरसरकारी मञ्च समूह २० अर्थात् जी-२० को शिखर सम्मेलन भारतको राजधानी नयाँदिल्लीमा आइतबार सम्पन्न भएको छ ।
जी-२० का को अध्यक्ष देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत मण्डपमा आयोजित समापन समारोहमा समूहको १८ औं शिखर सम्मेलन समाप्त भएको घोषणा गर्दै नयाँदिल्ली बैठकको समीक्षा आगामी नोभेम्बरको अन्त्यतिर श्रव्यदृश्य (भर्चुअल) समीक्षा बैठक गर्ने प्रस्ताव गरेका छन् ।
आगामी नोभेम्बरसम्म भारत समूहको अध्यक्ष रहनेछ । गत वर्ष डिसेम्बर १ मा बालीमा भएको १७ औं शिखर सम्मेलनमा भारतले समूहको अध्यक्षता ग्रहण गरेको थियो ।
दिल्ली शिखर सम्मेलन समाप्त भएको घोषणा गर्नुअघि प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जी-२० को प्रतीकात्मक हथौडीसँगै अध्यक्षता हस्तान्तरण गरे । चक्रीय प्रणालीअनुसार जी-२० को अध्यक्षता ब्राजिललाई हस्तान्तण गरिएको हो ।
आगामी डिसेम्बर १ देखि एक वर्षसम्म ब्राजिल समूहको अध्यक्ष हुनेछ । जी-२० को १९ औं शिखर सम्मेलन पनि अब ब्राजिलमा हुनेछ । त्यसअघि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र लुइज इनासियो लुला डा. सिल्भाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिरुवा हस्तान्तरण गरेका थिए ।













