News Griha :: न्यूजगृह
प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पार्ने विमानस्थल भन्सार कर्मचारीको चेतावनी, गरे आन्दोलनको घोषणा

काठमाडौं— त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।

भोलि र पर्सि कार्यालयको कार्गो जाँचपास शाखा मार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।  
यसैगरी भदौ २७ गतेभित्र अघि सारिएको ७ बुँदे माग सम्बोधन नभएमा कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित पार्ने चेतावनी दिइएको छ ।

यसअघि काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा माग्ने कर्मचारीहरूले थप माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । गत साउनमा विमानस्थलबाट ६० किलो सुन लुकाई ल्याएको ‘ब्रेक शु’ जाँचपास भएपनि विमानस्थलका कर्मचारीहरूले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन् ।

कर्मचारीहरूको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरूको गुनासो छ । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको चेतावनी यसअघि नै उनीहरूले दिइसकेका छन् ।

उनीहरूले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:००
Weather Update