News Griha :: न्यूजगृह
गल्ती गरेको भए दोषीमाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने बताएका छन् ।

इजिप्टको राजधानी कायरोमा आयोजित जनसंख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दोषीलाई कारबाही गर्ने बताएका हुन् ।

केही दिनअघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको थियो ।

मन्त्री बस्नेतले भने,‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।’

कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान  गरेका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १२:२३
Weather Update