
चितवन— प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।
भरतपुर महानगरपालिका–२क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
'घर बनेपछि यो कोठामा बीपी कोइराला बाहेक अहिलेसम्म कोही पनि सुतेको छैन,' ९० वर्षीया गौरीदेवीले भनिन् ।
उनका श्रीमान स्व श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।
२००६ सालमा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, 'अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।'
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन् ।
'घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो,' गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी सुतेको खाट अझै देख्न सकिन्छ । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो । सादा खाना बीपीले खाने गरेको प्रधान बताउँछिन् ।
उनले भनिन्, 'माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, बीपीबाबु के खाने? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।' बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।













