News Griha :: न्यूजगृह
पौडेलले राष्ट्रपतिकाे कार्यभार सम्हालेपछि गृह जिल्लामा खुसीयाली

तनहुँ— नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कार्यभार सम्हालेपछि उनको गृह जिल्लाका बासिन्दा हर्षित भएका छन् । विकासप्रेमी नेता देशको उच्च ओहोदामा पुगेकाले विकास निर्माण कार्यले काँचुली फेर्ने विश्वाससहित जिल्लावासीले खुसी व्यक्त गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।

एक निष्ठावान् व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्य मान्यताको लागि निरन्तर लडिरहने व्यक्ति भएको व्यास नगरपालिका तनहुँका प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

निष्ठाको राजनीतिले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिलेको उनले बताए । लोकतान्त्रिक अभियान र संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाहमा राष्ट्रपति पौडेलको योगदान अतुलनीय रहेको उनले बताए ।

राष्ट्रपति पौडेलको जन्म घर हाल भग्नावशेष अवस्थामा रहेकाले त्यसको पुनःनिर्माण गरी संरक्षण गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । व्यास नगरपालिका–२ अमरापुरीमा पनि पौडेलको घर छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २१:५५
Weather Update