
गोरखा— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार गोरखाको सिरानचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्दै जाँदा आफू नै परेपनि गिरफ्तार गर्न अनुसन्धानकर्ताहरूलाई निर्देशन दिएको बताएका छन् ।
उनले भने,‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ,आफ्ना परे भने तिनीहरूमाथि कारबाही नगर्ने,अरूलाई गर्ने भनेर प्रचार भयो । मैले अनुसन्धानकर्ताहरूलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरी भए गिरफ्तार पनि गर्नुपर्छ भनेर निर्देशन दिएको छु ।’
प्रधानमन्त्री दाहालले राज्यविरुद्ध झेली गर्नेहरूलाई कानुनको घेरामा ल्याइने बताए । उनले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि गरिब र निमुखासम्मलाई एउटै हुने दाबी गरे ।
‘हामीले एउटा नयाँ अभियान सुरु गरेका र्छौं । न्याय वा कानुन खाली एउटा गरिब र निमुखालाई मात्रै लाग्छ, ठूला नेता, मन्त्री, सचिव वा पदाधिकारीहरूलाई कानुन लाग्दैन भन्याजस्तो जुन बुझाइ थियो । त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।