
काठमाडौं— नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नवउदारवादलाई आफ्नो आदर्श बनाएकाले नेपालमा विकास सम्भव नभएको बताएका छन् ।
पूर्व क्रान्तिकारी माओवादी, पूर्व नेकपा बहुमत र पूर्व क्रान्तिकारी कम्युनिष्ट लिग निकट तीन वटा ट्रेड युनियन महासङ्घबीचको एकता अधिवेशनमा उनले वर्तमान व्यवस्थाबाट जनता वाक्क भएको भन्दै नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्था, वर्तमान राज्य संस्थाको विकल्प खोजिनु पर्ने बताए ।
वैद्यले भने, ‘यो सत्ता व्यवस्था नाङ्गिएको छ त्यसकारण संगठन बलियो बनाएर योजनाबद्ध ढङ्गले जनसङ्घर्षमा लाग्नु पर्छ । नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्थाको, वर्तमान राज्य संस्थाको विकल्प हामीले दिनुपर्छ । जनता वाक्क भएको छ । यहाँ विकास रूपान्तरणको धेरै कुरा गर्छन्, तर नवउदारवादलाई आफ्नो आदर्श बनाएर नेपालमा विकास असम्भव छ ।’
उनले अहिलेको मुख्य चुनौती भनेको दलाल पुँजीवाद र देशको पुरानो व्यवस्थालाई बचाएर राख्ने साम्राज्यवाद र विस्तारवाद रहेको भन्दै त्यसको लागि दृढतापूर्वक लड्न आवश्यक भएको बताए । वैद्यले संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्न नहुने बताए ।