
काठमाडौं— नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टीका निर्णय तल्लो तहसम्म पुर्याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे ।
‘फाइँफुइँ लाउने नेताहरू भेटिन सक्छन् । यस्ता नेताहरूको काम छैन । हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौं । फाइँफुइँ लाएर कसरी काम हुन्छ,’ उनले भने, ‘यो मैले भन्दिए, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौं ?’
त्यस्तै उनले पार्टीका निर्णय कार्यन्वयनमा समस्या देखिएको बताए ।
‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी जस्तो भको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन,’ उनले भने ‘केरामाथि पानी परे जस्तो ट्यार्र पातमाथि पानी पर्छ उता उता जान्छ । जरामा पानी पर्दैन । यो पाराले पार्टी राम्रो बन्दैन।’
अर्को प्रसङ्गमा उनले सारा विरोधहरू एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए ।
उनले भने, ‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफै भित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधीहरू एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनु पर्छ ।’
यसअघि एमाले वरिष्ठ उपाध्यक्ष हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । स.