News Griha :: न्यूजगृह
माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः  प्रधानमन्त्री दाहाल

गोरखा—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् ।

शनिबार गोरखाको अजिरकोट गाउँपालिका पुगेका उनले माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानले पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्ने बताए ।

'माओवादी केन्द्रलाई फेरि जनताको बीचमा स्थापित गर्ने र राष्ट्रको जिम्मा लिने एकमात्र पार्टीको रूपमा स्थापित गर्छौँ, हामीले विचार पनि संश्लेषण गर्ने तथा शक्ति पनि आर्जन गर्ने उद्देश्य लिएका छौँ,' दाहालले भने, 'गोरखाका नेता, कार्यकर्ता र जनसङ्गठनले पनि यसलाई राम्रोसँग बुझ्नुभएको छ ।'

गोरखाबाट निर्वाचन जितेर गएपछि धेरै उतारचढावबीच देशको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै उनले अहिले जनतालाई प्रत्यक्ष राहत दिएर सरकारले सुशासनको थालनी गरेको उल्लेख गरे । सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू भने अत्तालिएको बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको उल्लेख गर्दै उनले सरकारको यो अभियान नरोकिने उल्लेख गरे ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना तथा कर्णाली चिसापानी जस्तो ‘गेम चेन्जर’ आयोजना सुरुआत गरिएको उनले बताए । दाहालले आफ्नो चीन भ्रमणका क्रममा नेपालको विकास तथा उत्तरी क्षेत्रका नाका खोल्नेलगायत विषयमा छलफल हुने बताए ।  

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १५:२८
Weather Update