
काठमाडौं— जी-२० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ ।
जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधि नयाँ दिल्ली पुगेका छन् । जी-२० सम्मेलन शनिबार र आइतबार २ दिनसम्म चल्नेछ । शनिबार आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् ।
२० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी-२० मा १९ देश र एउटा युरोपियन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, संयुक्त राज्य अमेरिका छन् ।
सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका अन्य सदस्यहरूलाई स्वागत गरे । साथै उनले जी-२० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परि निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्यालाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।













