
काठमाडौं— बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका- ९ का काशिराम थारू, कस्तुरी थापा, रूपा परियार, जयन्ती थारू र बसका चालक जुकबहादुर चन्द र सहचालक छन् । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
दुर्घटनामा ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको डीएसपी डाँगीले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बस तिव्र गतिमा आएकोले दुर्घटना भएको बुझिएको छ।’
दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्ज नजिक रोकी राखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । उक्त बसमा ठाकुरबाबा नगरपालिका– ९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहका सदस्य थिए ।
डीएसपी डाँगीका अनुसार घाइते ९ जनाको अवस्था सामान्य छ । दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । नेपालगञ्ज नर्सिङ होममा उपचार गराइरहेको चार मध्ये दुईको आईसीयूमा उपचार भइरहेको छ । बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ४० जना सवार थिए ।













