
बाग्लुङ— तल घना जंगल । शिरमा नाङ्गा हरियाली पहाड । नजिकै राष्ट्रिय लोकमार्ग । बाग्लुङको रिग ताल क्षेत्र यो सिजन निकै मनमोहक देखिन्छ । निसीखोला गाउँपालिका–६ मा पनि रिग क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
एक दशक अगाडिसम्म गुमानाम रिग क्षेत्र अहिले एकाएक चर्चामा छ । पातीहाल्नेभन्दा केही माथिल्तिर रिग ताल पनि छ । तालमा फोटो, भिडिओ खिच्ने र त्यस वरपरको दृृश्यावलोकन गर्नेको पछिल्लो समय भिड नै लाग्ने छ ।
पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ । जुन बाग्लुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सगमस्थल पनि हो । केही वर्ष अगाडिसम्म गुमनाम रहेको रिग अहिले निकै चर्चामा छ । मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आयो ।
पातीहाल्ने पुग्ने पर्यटक रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी नै छ । केही वर्ष अगाडिसम्म सुनसान थियो यो क्षेत्र । वर्षात्को समयमा गोठालेले भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो ।
तर अहिले बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । वर्षात्को समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यले धेरैलाई तान्ने गरेको छ । निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्र भएपछि बढी चर्चामा आएको हो ।
त्यसभन्दा अगाडि यसको त्यति चर्चा थिएन । यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन् । रिग क्षेत्रमा हरेक दिन मान्छेको आवतजावत बाक्लिँदै गएको स्थानीय पुनराम घर्तीमगरले बताए । पछिल्लो समय वर्षा हुँदा पनि पर्यटक गाडी लिएर घुम्न आउने गरेको घर्तीमगरको भनाइ छ ।
‘रिग तालमा भेडा गोठालाले पानी भररे खान्थ्यौँ, आजभन्दा १५/२० वर्ष अगाडि यो ठाउँ निकै सुनसान थियो, करिब तीन महिना भेडा, बाख्रा र गाईभैँसी हुन्थे, त्यसपछि खाली हुन्थ्यो, अलिहे हिउँ पर्दा पनि मान्छे आउँछन्, बर्खा लाग्दा पनि आउँछन्’,घर्तीमगरले भने,‘ठाउँ राम्रो छ, सडक पनि सजिलो भएकाले होला रुकुम, रोल्पा र बाग्लुङका धेरै ठाउँबाट मान्छे दिनदिनै आउने गरेका छन्, अहिले त धेरै सडकले धेरै सजिलो बनायो ।’
पातीहाल्नेमा होटल तथा बास बस्ने व्यवस्था भएपछि रातिमा पनि पर्यटक रिगतालसँग रम्न पुग्ने गरेका छन् । पातिहाल्नेसँग जोडिएको रिगतालमा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यस वरपरको क्षेत्र सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् ।
रिग ताल तीन हजार २०० सय मिटर उचाइमा रहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्र करिब चार हजार मिटरको उचाइमा छन् । रिग तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ । सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ । सिमानाबाट गाडीमा पाँच मिनेट र पैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ । अहिले यहाँ बिदाको दिन बढी आन्तरिक पर्यटक पुग्ने घर्तीमगरको भनाइ छ ।