काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् । जनताको चित्त बुझाउने गरी किराँत, राई, लिम्बू सबैलाई मिलाएर सो प्रदेशको नामकरण गर्नुपर्ने उनले बताए ।
श्रमिक समुदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुने गरी प्रदेशको नाम राख्न उपयुक्त हुने उनले बताए ।
‘जातिवाद समाजको लागि घातक हो । तर पहिचान भनेको छुट्टै कुरा हो । जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता त्यो चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि । पूर्वका किराँत प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बूहरूको पनि छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बू, राई सबैको केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरूलाई चित्तबुझ्दो नाम राखे के फरक पर्छ ? के कोशी राख्ने वित्तिकै त्यहाँ जातिय पहिचान नहुने अरू राखेपछि मात्रै हुने कुरा हो ? त्यो त शासक वर्गीय चिन्तन हो,’ उनले भने ।













