
काठमाडौं— हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षा भएकाे छ । वर्षाका कारण शहरका सडक र केही सबस्टेसनहरू डुबेका छन् । विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।
सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रविधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।
विशेषज्ञहरू भन्छन्,‘जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।’
शुक्रबार अपरान्ह अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ यद्यपि अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।
अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन् ।
बढी र डुबानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ । रासस/एएफपी













