
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा मन्त्री राईले सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच समझदारी भएको जानकारी दिएका हुन् ।
परीक्षाको विषयमा तत्काल समाधान भए पनि नर्सिङ र अन्य स्वास्थ्य जनशक्ति उत्पादन एवम् व्यवस्थापनका लागि ऐन/कानुनको स्पष्ट व्याख्या गर्नुपर्ने उनले बताए । मन्त्री राईले समितिलाई यी दुई निकायबीचको विवादलाई आपसी समझदारीकै आधारमा हल गरिने विश्वाससमेत दिलाए ।
उनले भने,‘आयोग र सीटीईभीटीको विमतिलाई लिएर फेरि समितिमा आउने छैन’,उनले भने,‘केही समस्यादेखि आपसमै हल गर्ने बचनबद्धता गर्दछु, दुई वटा ऐनको समीक्षा गरेर कहाँ प्रष्ट व्यवस्था गर्न आवश्यक छ त्यसमा काम गर्छौं ।’
बैठकमा उनले आवश्यकताअनुसार ऐन कानुनलाई संशोधन गर्नुपर्नेमा जोड दिँदै आयोग र परिषद्का पदाधिकारीलाई कानुनको कार्यान्वयनमा रचनात्मकरूपमा जिम्मेवार बन्नसमेत आग्रह गरे ।
बैठकमा मन्त्री राईले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्ने सिलसिलामा आयोगले राम्रो काम गरे पनि संख्या अभिवृद्धिमा लचिलो बन्न सुझाव दिए ।













