२० लाख बढी रकमसहित एक युवा पक्राउ

जनकपुर— जनकपुरमा शुक्रबार एक युवा २० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
भारत विहार राज्यको दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जनकपुरधाम–४ स्थित सडकमा उनीमाथि चेकजाँच गर्दा २० लाख ५० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । सो रकमसहित ओप्पो मोवाइल एक थान र उनले बोकेको कालो रंगको झोला पनि प्रहरीले बरामद गरेको छ ।
बरामद रकम, झोला र मोबाइलसहित साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १९:३१













