News Griha :: न्यूजगृह
हिक्मत कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ, एक राज्यमन्त्रीसहित ४ मन्त्री नियुक्त

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् ।

कार्कीले ऊर्जामन्त्रीमा तिलकुमार मेन्याङ्वो, वन र कृषिमन्त्रीमा पाँचकर्ण राई र भौतिक पूर्वाधारमन्त्रीमा एकराज कार्कीलाई र सामाजिक विकास राज्यमन्त्रीमा सृजना राईलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् ।

३ जना मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्री राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बिहीबार सर्वोच्च अदालतले दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ ।  विश्वासको मत प्राप्त गर्न नसके उनी स्वतः पदमुक्त हुने छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:०५
Weather Update