
सुर्खेत— निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको कर्मचारीले बताएका छन् ।निजामती सेवा दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कर्मचारीले संघीयता कार्यान्वयनमा गइसक्दा पनि ऐन नबन्दा काम गर्न समस्या भएको बताएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले निजामती सेवा ऐन ल्याउन ढिलाइकै कारण काम गर्न समस्या रहेको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाङ्गीले विकासका कामलाई अगाडि बढाउन कर्मचारीको भूमिका धेरै हुने भन्दै कर्मचारीको कार्यसम्पादन राम्रो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष लालबहादुर खत्रीले व्यवस्था नयाँ ल्याएको भन्दै अवस्था भने पुरानै रहेको बताए । उनले ६८ वर्षसम्म पनि निजामती सेवा ऐन बन्न नसक्दा काम गर्न कर्मचारीलाई काम गर्न समस्या रहेको बताए ।
ढिलै भए पनि प्रदेश निजामती सेवा ऐन छलफलमा गएको र संघीय निजामती सेवा ऐन पनि मन्त्रिपरिषद्बाट पारित भएर संसदमा लिन लागिएकाले अब समस्या हल हुँदै जानेमा उनले विश्वास व्यक्त गरे ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निजामती सेवा ऐन आउन नसक्दा काम गर्न अप्ठ्यारो भएको उल्लेख गर्दै कर्मचारीले पनि नागरिकले दिने सेवाका सन्दर्भमा अलि गम्भीर हुनुपर्ने बताए ।













