
काठमाडौं— नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति, नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिसहितको एक टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई भेट गरी संघीय शिक्षा ऐन तथा शिक्षक कर्मचारीका मागका विषयमा शुक्रबार चासो राखेका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले न्यूजगृहसँग कुरा गर्दै शिक्षा सचिव अधिकारीले आइतबार संघीय शिक्षा विधेयक संसदमा पेस हुने जानकारी गराएको बताए ।
उनले भने, ‘विद्यालय शिक्षा विधेयकमाथिको विषयमा पुनः छलफल गरी आइतबार सदनमा दर्ता हुने जानकारी पाएका छौं । धेरैजसो समस्या समाधान हुने विश्वास गरेका छौं ।’
अध्यक्ष तिवारीले विद्यालय कर्मचारी मागका विषयमा पनि शिक्षा सचिवसँग सामान्य छलफल भएको जनाए । बिहीबार मन्त्रिपरिषद् बैठकले शिक्षा विधेयक संसदमा टेबुल गर्ने निर्णय गरेको थियो ।













