News Griha :: न्यूजगृह
उपनिर्वाचन : सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान

काठमाडौं— सत्ता गठबन्धनका दलहरूले आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्ना 
उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।

गठबन्धन दलका शीर्ष नेताहरूले आइतबार विज्ञप्ति मार्फत् गठबन्धनमा रहेका दलका सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई व्यापकरुपमा परिचालन गर्न आह्वान गरेका हुन् ।

यसका लागि गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक सङ्घ, संस्था/सङ्गठनका सदस्य तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरिएको छ ।

गठबन्धन दलका तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको उम्मेदवारी दर्ता भइसकेको छ ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पङ्क्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १९:०९
Weather Update