
काठमाडौं— कोशी प्रदेश सभा सदस्य खगेनसिंङहाङगाममाथि प्रहरीबाटै दुर्व्यवहार भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
बिहीबार बेलुकी डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले बताए । प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएका असई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेकोसमेत उनको आरोप छ ।
ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्य हाङगामले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए । ‘ललितपुरबाट आएका हाम्रा पाहुनालाई प्रहरीले कुटपिट गरेछ । यो कुरा मलाई थाहा भएपछि मैले प्रहरी प्रशासनसँग बुझ्ने काम गरेको थिएँ,’ उनले भने, ‘शुक्रबार बेलुकी मेरो डेरामै आएर प्रहरीहरूले अपशब्द बोले, ममाथि दुर्व्यवहार गरे।’
प्रदेश सभा सदस्यलाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले बिहानैदेखि ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरिरहेका छन् ।ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले समस्या समाधान गर्न छलफल सुरू गरिएको बताइन् ।













