News Griha :: न्यूजगृह
अरुण थर्डको काम प्रभावित, विद्युत गृहस्थल र प्रवेशमार्ग एकसातादेखि बन्द

सङ्खुवासभा— मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् ।

गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिडपुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ ।

अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले  आलटाल गरेको आरोप लगाए ।  जग्गाधनीलाई मुआब्जा वापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छ्याङ्कुटी–दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । तर हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीय आन्दोलित बनेका हुन् । अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । मुआब्जा पीडित सङ्घर्ष समितिका संयोजक राईले माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे । 

उनका अनुसार सङ्घर्ष समितिले खाँदबारी नगरपालिका–४ को छ्याङ्कुटी डाँडाबाट अरुण तेस्रोको यातायातका साधन आयोजनास्थल जान दिएका छैनन् । प्रवेशमार्गको चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो ।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभीएनले गरिरहेको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रुपैयाँ पाउनेछ । आयोजना बनाउन एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:०३
Weather Update