News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने

काठमाडौं—  नेकपा एकीकृत समाजवादीले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ ।

मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने छ । 

पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ ।

उनले अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रूपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने बताए । 

जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नहुने र समाजवादी व्यवस्था कार्यान्वयनका लागि सो जबज विचार छाड्नुपर्ने बहस पार्टीभित्र चलेको छ । यसलाई आगामी महाधिवेशनमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:२७
Weather Update