
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई मंगलबार ६ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा देशभरका ईसीडी शिक्षकहरूको प्रतिनिधित्व गर्दै मागहरू उल्लेख गरिएका छन् । उक्त माग पूरा गराउन प्रदेश सरकारको तर्फबाट सहजीकरण गर्न शिक्षकहरूले माग गरेका छन् ।
बालविकास सहजकर्ता कोशी प्रदेश अध्यक्ष मनिषा श्रेष्ठ र सचिव अम्विका सुवेदीको नेतृत्वमा गएका ईसीडी शिक्षकहरूले मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले शिक्षा ऐन कानुनमा स.का. हटाई शिक्षक सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।
बाल शिक्षकलाई तत्काल दरबन्दी कायम गरी कम्तिमा पनि प्रा.वि.सो सरह सेवा सुविधाको व्यवस्था कायम गर्न माग गर्दै सामान्य प्रक्रियाबाट स्थायीको प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको छ ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार बाल शिक्षकहरूलाई गोल्डेन ह्याण्डसेकका साथै सञ्चय कोषको व्यवस्था न्यायोचित ढंगबाट कार्यान्वयन गर्नुपर्ने, तत्काल महंगी र प्रोत्साह भत्ताको व्यवस्था र बालविकास शिक्षकको तलब, सेवासुविधा एकरुपता हुने गरी केन्द्रीय सरकारबाटै व्यवस्थापन गर्न माग गरिएको छ ।
सबै बालविकास शिक्षकलाई मन्टेस्वरीको रुपमा कायम गर्न पनि शिक्षकहरूले माग गरेका छन् । शिक्षकहरूको ज्ञापनपत्र बुझेका मन्त्री राजभण्डारी माग पूरा गराउन आफूले सहजीकरण गर्ने बताए ।














