चितवन— चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ ।
बाग्मती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी) का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।
प्रदेशका चितवन, मकवानपुर र धादिङलगायतका चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् ।
शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघ बाग्मती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडा अध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । उनले सामूहिक उत्सवको सबै तयारी गरिएको बताए ।
उनका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङ्लीमा जम्मा भएर न्वागी मनाउँदैछन् ।
विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ संघको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् ।
उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।
यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।
वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडा अध्यक्ष पञ्चबहादुर चेपाङले बताए ।
उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ ।
छोनाममा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् ।
नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ ।
नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् ।
मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ ।













