News Griha :: न्यूजगृह
शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री शाह

कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

कैलालीको टीकापुरस्थिति वीरेन्द्र विद्या मन्दिर क्याम्पसको क्याम्पस सभामा उनले वर्तमान आवश्यकताको आधारमा शिक्षालाई गुणात्मक बनाउनका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् ।

‘हामी शैक्षिक क्षेत्रको विकासका लागि गम्भीर छौँ । प्रदेश सरकारको स्रोतसाधनले सकेको काम गरिरहेकै छौँ’, मुख्यमन्त्री शाहले भने,‘विगतको स्थिति हेर्दा शैक्षिक क्षेत्रमा ठूलो सुधार भएको छ तर वर्तमान आवश्यकतालाई हामीले पछ्याउन सकेका छैनौँ ।’

उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई र उच्च शिक्षा प्रदेशको मातहतमा रहने संवैधानिक व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसक्दा पनि शिक्षामा उल्झन कायमै रहेको बताए ।

एक पालिका एक नमूना विद्यालयको अवधारणा बनाएर त्यसलाई कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो ।

‘माध्यमिक तहसम्मको सबै विद्यालयमा डिजिटल लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्थापन गर्ने गरी पहिलो चरणमा सरकारले योजना अगाडि बढाएको छ’,उनले भने,‘त्यो सँगै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारले रणनीतिक योजनाका साथ अगाडि बढ्न खोजेको छ ।’

टीकापुरलाई शैक्षिक नगरीका रूपमा विकास गर्न तत्कालीन टीकापुरका योजनाकार स्व.खड्गबहादुर सिंहको योगदानलाई स्मरण गर्दै मुख्यमन्त्री शाहले इतिहासलाई जोगाउन सकिएन भने त्यसको पहिचान समाप्त भएर जान सक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:५९
Weather Update