
काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता थापा गत साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले बिहीबार पदमुक्त गरेको हो ।
थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले मुद्दा दायर गरेका थिए ।
थापाले प्रदेश सभाका अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीलाई पनि मतदानमा सहभागी गराएर बहुमत (४७) सांसद पुर्याएका थिए ।
अदालतले सभा अध्यक्षको मतलाई अस्वीकार गरेसँगै थापा पदमुक्त भएका हुन् । सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापालाई पदमुक्त गर्ने आदेश दिएको हो ।
थापा पदमुक्त भएसँगै सर्वोच्चले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।