काठमाडौं— आगामी वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । जसअन्तर्गत सोमबार तीनवटै क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति पदमा र बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै नागरिकता प्रकरणमा सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनको सांसद पद खारेज भएको थियो । सोही कारण चितवन २ मा पनि १० बैशाखमा उपनिर्वाचन हुन लागेको हो ।
दोहोर्याउलान् त रवि लामिछानेले जीत
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसँगै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुने देखिन्छ । एमाले उम्मेदवार न्यौपाने गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन-३ बाट उम्मेदवार बनेका थिए । तर पछि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएर दिनेश कोइरालालाई समर्थन गरेको थियो । कोइरालाले कांग्रेसबाट बागी उम्मेदवारी दिएका थिए ।
मंसिरमा लामिछाने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याएका थिए ।
गत निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने उपनिर्वाचन जित्नैपर्ने दबाबमा छन् । लामिछानेसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनले कांग्रेसका श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठलाई माओवादी र एकीकृत समाजवादीले सर्मथन गरेका छन् ।
सोमबार मनोनयन दर्तापछि लामिछानेले आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न केन्द्रित हुने बताएका थिए । यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै उनले अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए ।
कांग्रेस उम्मेदवार श्रेष्ठले मतदाताले स्थानीय उम्मेदवार र सुखदुःखको साथी भएकाले आफूलाई निर्वाचित गराउने दाबी गर्छन् । उनले आफूले गरेको काम सबैलाई थाहा भएको भन्दै चितवनवासीको सेवाका लागि सांसद बन्न प्रतिस्पर्धामा उत्रिएको बताए ।
एमाले उम्मेदवार न्यौपानेले देशको विकास र समृद्धिको अभियानमा जनताको सेवामा आफूलाई समर्पित गर्ने बताए । न्यौपानेले एमाले चितवन अध्यक्षसमेत हुन् । उनले भने, 'हामीलाई उपनिर्वाचनको चाहना थिएन । जनतालाई पनि चाहना थिएन । हामीले गराएर पनि यो उपनिर्वाचन भएको होइन । कसले गरायो, तपाईँहरूलाई थाहा छ ।'
गत प्रतिनिधि सभा निर्वाचनमा चितवन २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार ९४५, नेकपा एमालेले १६ हजार ७८४, नेपाली कांग्रेसले १२ हजार १३२, नेकपा माओवादी केन्द्रले ८ हजार ४०७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार २१८, नेकपा एकीकृत समाजवादी ६१६ मत पाएका थिए । यसरी गत निर्वाचनमा समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा समेत चितवन २ मा लामिछाने नै भारी पर्ने देखिन्छ । गत निर्वाचनमा निर्वाचित भएयता काम गरेर देखाउने अवसर नपाएकाले उनलाई विगतमा प्राप्त समर्थन यो उपनिर्वाचन पनि पर्ने विश्लेषकहरू बताउँछन् ।
क्षेत्र फेरेका उपेन्द्रलाई कति सहज ?
बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलबीच प्रतिस्पर्धा हुँदैछ ।
गत निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका यादव बारा-२ मा उम्मेदवार बनेका हुन् । यादवलाई राउतले दोब्बर भन्दा बढी मतले पराजित गरेका थिए । राउत ३५ हजार ४२ मत प्राप्त गरेर विजयी बन्दा यादवले १६ हजार ९ सय ७९ मत ल्याएका थिए ।
गत चुनावमा बारा-२ मा जसपा र एमालेबीच चुनावी तालमेल थियो । एमालेसँगको तालमेलमा जसपाका रामसहायप्रसाद यादव विजयी भएका थिए । यादवले तत्कालीन ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई २५४ मतान्तरले पराजित गरेका थिए । उनै कुशवाहा यो उपनिर्वाचनमा पार्टी परिवर्तन गर्दै उम्मेदवार बनेका हुन् ।
त्यस्तै एमाले उम्मेदवार पुरुषोत्तम पौडेल दोस्रो संविधान सभा चुनावमा तत्कालीन बारा- ६ बाट निर्वाचित भएका थिए। त्यसयता पौडेल उम्मेदवार बनेका थिएनन् । पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैछन् ।
रास्वपाबाट उम्मेदवार बनेका खरेल भने गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं-१ मा उम्मेदवार बनेका थिए ।
जसपा अध्यक्ष यादवले आफू निर्वाचित भइसकेको दावी गरे । यादवले आफूलाई बाराका जनताले बोलाएर आफू आएको दाबी गरे । आफ्नो उम्मेदवारी दर्ता नै बाराका जनताको जित भएको जिकिर गर्दै उनले यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।
एमालेका उम्मेदवार पौडेलले भने जनताबाट अस्वीकृत भएका व्यक्तिहरूलेबारा-२ लाई भाग्य अजमाउने ठाउँको रुपमा लिएको भन्दै मधेसका जनता सचेत भइसकेको प्रतिक्रिया दिए ।
सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा यादव उम्मेदवार बनेका हुन् भने जनमतका कुशवाह र एमालेका पौडेल आफ्नो पार्टीको समर्थनमा मात्र प्रतिस्पर्धा गर्दैछन् ।
जनमत पार्टीका उम्मेदवार कुशवाहले उपेन्द्र यादवलाई पराजित गर्नकै लागि आफूले उम्मेदवारी दिएको बताए । उनले गत निर्वाचनमा आफू निकटतम प्रतिस्पर्धी भएपनि यसपटक भने विजयी हुने दाबी गरे । रास्वपाकाउममेदवार खरेलले आफूले सबैलाई पछि पारेर जित हासिल गर्ने दाबी गरे । आफ्नो उम्मेदवारी राष्ट्रिय आवश्यकता समेत भएको दाबी गर्दै खरेलले आफू सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
बारा २ मा समानुपातिकतर्फ गत निर्वाचनमा जसपाले १३ हजार २४२, कांग्रेसले ११ हजार १७९, एमालेले ९ हजार १९३, जनमत पार्टीले ८ हजार ८४६, लोसपाले ४ हजार २३५, नागरिक उन्मुक्तिले ३ हजार ७९४, माओवादी केन्द्रले ३ हजार २६५, संघीय समाजवादीले २ हजार ३६६, नेकपा एसले १ हजार ९९६, रास्वपाले १ हजार ४५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९२ मत ल्याएका थिए । यसरी हेर्दा सत्ता गठबन्धनमा रहेका बलियो दलको समर्थन रहेकाले यो निर्वाचन यादवको पक्षमा जान सक्ने देखिन्छ ।
तनहुँ १ मा जोगाउला त कांग्रेसले बिरासत
राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसबाट उम्मेदवार बनेका भट्टराई पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनी कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत हुन् ।
त्यस्तै एमालेबाट उम्मेदवार बनेका खनाल पूर्व प्रहरी महानिरीक्षकसमेत हुन् । उनी गत निर्वाचनमा काठमाडौं-६ बाट एमाले उम्मेदवार बनेर रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।
रास्वपाबाट उम्मेदवार बनेका अर्थशास्त्री वाग्ले १६ चैतमा कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका हुन् । गत निर्वाचनमा उनी चितवन-१ बाट सिफारिस भएका थिए । तर टिकट पाएनन् ।
तत्कालीन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले पौडेलले २५ हजार ३८१ मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिस्पर्धीमा एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए । पूर्व मन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उठेर ६ हजार ८८६ मत पाएका थिए । उपनिर्वाचनलाई ध्यानमा राखेर कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
रास्वपाका उम्मेदवार वाग्लेले देशको अवस्था र अर्थ व्यवस्थामा सर्जरी नै चाहिने भएकाले आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गरे । तनहुँ १ ले सन्देश दिनुपर्ने भन्दै उनले भने, 'अब सामान्य मतले जितेर पुग्दैन । शानदार रुपमा जित्नुपर्छ । चितवन–२ मा जस्तै तनहुँ १ ले सन्देश देओस् । किनकि बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन ।'
कांग्रेसका उम्मेदवार भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको दाबी गर्दै तनहुँका जनताको विकास र स्थानीय नेताको रुपमा सधैँ सँगै रहेको बताए । नेपाली कांग्रेसका असल कार्यकर्ता र जनताको विकासमा सँगै रहने भएकाले आफूले जित्नु आवश्यक रहेको र जित निश्चित रहेको उनको भनाइ थियो ।
त्यस्तै एमालेका उम्मेदवार खनालले तनहुँमा आफू जित्नेमा विश्वस्त रहेको बताए । जितको आधार भनेको पार्टीको संगठन र जनताको विश्वास भएको भन्दै उनले एमालेको पक्षमा मत आउने दाबी गरे ।
तनहुँ १ मा ४ मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ ल्याएको थियो । एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत ल्याएका थिए भने माओवादी केन्द्र/नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३ मत ल्याएका थिए ।
यसरी गत निर्वाचनमा समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतलाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार भट्टराई बलियो देखिन्छन् । त्यसो त रास्वपा र एमालेले पनि चर्चित अनुहारलाई उम्मेदवार बनाएकाले प्रतिस्पर्धा बलियो हुने देखिन्छ ।