काठमाडौं— चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई बिहीबार संसदीय समितिले निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका प्रायः सबै सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गरेका थिए । उनीहरूको विरोधपछि समिति सभापति राजकिशोर यादवले परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।
सभापति यादवले भने, ‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो । चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’
समितिले चिनियाँ राजदूतको अभिव्यक्तिको विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो । मन्त्री साउद काठमाडाैं बाहिर भएका कारण बैठकमा उपस्थित भएनन् ।













